भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् । नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ ।
विशेष गरेर किशोरावस्थामा हाम्रो आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन् । कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पीर लिने गर्दछन् । विशेष गरेर आफ्ना साथीहरूसंग तुलना गर्दा सानो भएमा यस्तो हुनसक्छ । केही किशोरीलाई सुरु सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ । यी कुराहरू आफ्नो शारीरिक स्वरुपमा सन्तुलनको स्थिति आउनुभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ । आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक  छु वा छैन भन्ने कुरासंग जोडिएको हुन्छ । भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौनआकर्षक होईएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्नसक्छ । कसै–कसैका लागि त यो समस्या यति गम्भीर बन्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ ।
स्तनको आकारप्रकार
व्यक्ति–व्यक्तिअनुसार हाम्रो शरीर तथा अन्य अंगको आकार तथा प्रकारमा फरक भए जस्तै स्तनको आकार तथा नापमा धेरै नै भिन्नता पाईन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला । त्यसैगरी गरी आकृति पनि गोलाकारदेखि झोल्लिएको हुनसक्छ । कसैमा स्तनको विकासको गति शीघ्र हुन्छ भने कसैमा सुस्त । गर्भवति र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो भएको हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ ।
सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ ।  स्तनको विकासको क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।  किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र सो बेला यसका तन्तु पनि निकै नै खाँदिएको हुने भएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गए पछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ ।
स्तनको विकास भईरहेका बेला अनावश्यक रुपमा कसिलो ब्रा वा लुगा लगाउनु कुरा राम्रो मानिँदैन । स्तनको नापअनुसार नै ब्राको प्रयोग गर्नु पर्दछ ।
डा. राजेन्द्र भद्रा

0 comments:

Post a Comment

 
Top