भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ । युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भएपनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं । केही जानकारी भएपनि आवश्यक सीप नहुन सक्छ । त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ । कन्डम प्रयोग गरिएकाले तपाईं तथा तपार्इंको साथीमा केही सजगता देखिन्छ । कन्डम फुटेको स्थितिमा कन्डमले काम गर्ने कुरा भएन, अर्थात् यौनरोगको संक्रमण हुने वा गर्भ रहने सम्भावना हुन्छ । सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ । कतिपय स्थितिमा कन्डम फुट्न सक्छ । कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला । कन्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ । त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? केही चर्चा गरौ ।
कन्डम फुटेको थाहा भएपनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौन सम्पर्कलाई निरन्तरता दिनुपर्छ । वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ । सर्वप्रथम यौनसम्पर्क असुरक्षित भएको स्थितिमा गर्भ रहनबाट जोगिन आकस्मिक गर्भनिरोधको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ । गर्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ । ४ चक्कीको पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिनभित्र) खाइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ ।
अचेल आकस्मिक गर्भनिरोधका लागि प्रोजेस्टेनरोनयुक्त औषधी ओके र इकोन पनि उपलब्ध हुन थालेको छ । त्यसैगरी कपर टीको प्रयोग यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भनिरोधका रूपमा गर्न सकिन्छ । सम्भावना थोरै वा धेरै जे भएपनि गर्भ रहे–नरहेको पक्का गर्नु नै महत्वपूर्ण हुन्छ । तपाईंकी प्रेमिका गर्भवती छिन्–छैनन्, पक्का गर्ने भरपर्दो उपाय पिसाब परीक्षण गराउनु हो । यदि गर्भ नरहेको स्थिति होभने गर्भलाई निरन्तरता नदिने विषयमा पीर गर्नैपरेन । गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने राम्रोसँग सल्लाह गरी निर्णय लिनुपर्छ । त्यसपछि नेपाल सरकारको सुरक्षित गर्भपतन सेवा केन्द्रमा गै सेवा लिन सकिन्छ । अहिले नेपालमा सुरक्षित गर्भपतनको कुरा निकै चर्चामा छ । मुख्य कुरा त अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधनको समुचित प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ । गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका कुअसर नगण्य छन्, तर कहिलेकाहीं थोरै नै भएपनि गर्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ जुन दुस्खलाग्दो छ । नियमित रूपमा यौनसम्पर्क हुन्छ भने आफूहरूलाई मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नु हुन्छ । एजेन्सीको सहयोगमा ।

0 comments:

Post a Comment

 
Top