त्यहि बेला उनीप्रति मेरो लगाव बढ्यो। त्यो कस्तो लगाव हो, मलाई थाहा थिएन। पछि मात्र थाहा भयो, त्यो प्रेमको सुरुवात रहेछ।
उनी र म गाउँले थियौं तर भेटको तारतम्य खासै नमिल्ने। उनी हुनेखानेकी छोरी थिइन्। काम विशेषमा उनको घर पुगेको बेला मात्र भेट हुन्थ्यो। यस्तो बेला कुरा गरेको कसैले देखिहाल्छ कि कसैले जिस्क्याइहाल्छ कि भन्ने त्रास रहन्थ्यो।
म उनलाई नियमित भेट्ने उपाय खोज्न थालें। दिनहुँ भेट्ने एउटै उपाय थियो, उनीसँगै उनको स्कुलसम्म जाने। मैले हिसाब निकालें, 'उनको स्कुलसम्म उनीसँगै जान्छु, त्यसपछि दगुर्दै आधा घण्टामा आफ्नो स्कुल पुग्छु।'
भोलिपल्ट म स्कुल जान नियमित समयमै घरबाट निस्किएँर केही पर बाटो कुर्न थालें । उनको स्कुल नजिक भएकाले कुनै हतार थिएन। दस बज्नै लाग्दा उनी निस्कन्थिन् र केही मिनेटमै पुग्न सक्थिन्। म जस्तो नौ बजे नै घरबाट हिँड्नुपर्ने अवस्था थिएन, तैपनि कुरिरहें।
दस बज्न लाग्दा उनी घरबाट निस्किइन्। उनले मलाई देखिन्, थोरै मुस्कुराइन् र अघि लागिन्। म उनको पछि लागें। उनलाई मेरो मनको आँधीबेहरी थाहा हुनै कुरै थिएन। हामी चुपचाप उनको विद्यालयसम्म पुग्यौं। मलाई हाम्रा प्रत्येक पाइला ठूलो लडाइँ जितेपछि बहादुर सिपाहीको छातीझैं आत्मविश्वासी लागिरहेको थियो।
पुसको जाडोमा घाम हराएझैं केही क्षणमै उनी आफ्नो विद्यालयमा हराइन्। मन चिसो भयो। अब दगुर्ने पालो मेरो थियो। म दगुरेको दगुर्यै आफ्नो स्कुल पुगें। स्कुल पुग्दा थाहा भयो, अंग्रेजीको पहिलो घण्टी सकिन लागेछ। त्यो दिन कुनै बाहाना बनाएर टारें। धेरै बेर कुदेकाले हुनसक्छ, कोखा दुखिरहेको थियो, तैपनि मन मुस्कुराइरहेको थियो। भोलिपल्ट त्यही खेल दोहोरियो। फरक कति थियो भने विद्यालयमा फेरि पनि ढिलो आएकोमा हात सुन्निने गरी कुटाइ खाएँ। त्यति मात्र होइन, सरले भोलि पनि ढिला आए थप सजाय दिने धम्की दिए।
म अप्ठयारोमा परें, उनीसँग १५ मिनेट हिँडेको सुख लिऊँ, अंग्रेजी सरको कुटाइ पीडादायी हुने, सरको सजायबाट बचौं, स्वर्गीय आनन्दबाट वञ्चित हुने। मैले दोस्रो घण्टीमा स्कुल पुग्ने निर्णय लिएँ। त्यसका लागि दिनभरी सोचेर नयाँ आइडिया फुराएँ।
स्कुलमा एउटा निवेदन दिएँ। निवेदनमा आमा बिरामी भएकाले भैंसीको दूध बजारमा पुर्याउने जिम्मा आफ्नो भएको जिकिर थियो। मेरो निवेदनमा दोस्रो घण्टीमा विद्यालय आउन पाउने व्यवस्था मिलाउन अनुरोध थियो। आमा निको नहुन्जेलका लागि भनेर मेरो अनुरोध स्वीकार भयो। मन खुसी भयो, उनीसँग हिँड्न पनि पाइने कोखा दुख्ने गरी कुद्नु पनि नपर्ने। सबैभन्दा रमाइलो कुरा आफूलाई गाह्रो लाग्ने अंग्रेजी विषय पनि पढ्न नपर्ने।
यद्यपि त्यो क्षणिक सुख थियो। दुई महिनापछि आमा बिरामी नभएको पोल खुल्यो। दुई महिनाको दैनिक १५ मिनेट लामो रोमान्सकै कारण आमा र शिक्षक दुवैको कुटाइले मेरो जीउ थिलथिलो भयो। सधैंका लागि पैदल रोमान्स सकियो। तैपनि मन हो, आशावादी भैहाल्छ। मनले सुझायो, 'उनी केही महिनामै ८ कक्षामा पुग्दैछिन्। त्यसपछि सँगै विद्यालय आउन पाइन्छ, चिन्ता नगर्।'
मैले गाह्रो गरी उनको परीक्षासम्म कुरें। उनी कक्षा ८ मा पुगिन्। अभिभावकले उनलाई हिँडेर जाने होइन, गाडी चढेर पुग्ने अर्को विद्यालय भर्ना गरिदिए। अनि पो म छक्क परें, हामी गरिवहरू पो गाडी भाँडा तिर्नुपर्छ भनेर हिँडेर पुगिने स्कुलमा पढ्छौं। उनका अभिभावकलाई के नपुग्दो थियो र छोरीलाई हिँडेर पुगिने विद्यालयमा पढाउँथे?
मानिसहरू भन्छन्, प्रेममा गरिब-धनीको भेद हुँदैन। मेरो अनुभवले भन्छ, 'ठीकै हो, प्रेमले धनी-गरिब नभन्ला, तर परिस्थितिले गरिबहरूलाई धनीसँग उठबस गर्ने अवसर नै दिँदैन। गरिब र धनीको प्रेम पुस्तक र चलचित्रको पर्दामा मात्र सम्भव छ।'
0 comments:
Post a Comment