भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

विदेशमा पेट मारेर
कमाएको पैसा ! डुबाइन्
प्यारीले ... थाप्लोमा हात
राख्नेहरू कम छैनन् यहाँ।
नेपाल पुरुषप्रधान देश हो।
यहाँ पतिहरूका अत्याचारले असंख्य
पत्नीहरूको जीवन बर्बाद भएको छ। तर,
यसो भन्दैमा पत्नीपीडित पतिहरू हुँदै
नभएका भने होइनन्। श्रीमतीका कारण
यहाँ धेरै पुरुषको जिन्दगीको जहाज
डुबेको छ।
विदेशमा पेट मारेर
कमाएको पैसा श्रीमतीले
मोजमस्तीमा उडाइदिएपछि थाप्लोमा
हात राख्नेहरू कम छैनन् यहाँ। श्रीमानलाई
पत्तै नदिई ढुकुटी खेलेर, व्यापार गरेर थुप्रै
महिलाले लाखौँ गुमाइदिएका छन्।
श्रीमतीका आवश्यकता, अभिरुचि र
गतिविधिमा पर्याप्त चासो नदिनु
घातक हुन सक्छ। अम्मर जिसीले
पत्नीका कारण डुबेका पतिहरूको हबिगत
चियाउन खोजेका छन्।
घर आउँदा जिल्लाराम
बाग्लुङ, छिस्ती– ३ का तोयानाथ पौडेल
तीन वर्षअघि दुबई गएका थिए।
त्यहाँ कमाएको सबै
पैसा उनी श्रीमतीको खातामा
हालिदिने गर्थे। श्रीमतीले
चितवनको भरतपुरमा जग्गा किनिन्। र,
एउटा किराना पसल पनि खोलिन्।
तोयानाथ सन्तुष्ट थिए।
तर, जब उनी स्वदेश फर्किए, उनी छाँगाबाट
खसेझैँ भए। उनकी श्रीमती पर्वत बाच्छा– ५
का सुरज सिलवालसँग गइसकेकी थिइन्। उनले
श्रीमती फिर्ता ल्याउन धेरै प्रयास गरे।
तर, उनी मानिन्। पौडेल अहिले आफूले
पठाएको पैसा, गरगहना र
जग्गा फिर्ताको माग गर्दै
अदालतको शरणमा पुगेका छन्।
आफूले पाँच लाख रुपैयाँ र छ तोला सुन
पठाएको र ३० लाख रुपैयाँ पर्ने
घडेरी जोडेको पौडेल बताउँछन्। त्यो सबै
जायजेथा श्रीमतीले पच
पारिदिएकी छन्। 'पैसा त लगी–
लगी मेरो छोरोसमेत लिएर हिँडी,'
तोयानाथ भन्छन्, 'त्यत्रो दुःख गरेर
कमाएको पैसा पनि सत्यानाश भयो।'
श्रीमतीका कारण उनी अहिले घर न
घाटको अवस्थामा पुगेका छन्।
वैदेशिक रोजगारीमा जाने कतिपय पुरुष
श्रीमतीबाटै ठगिने गरेका छन्।
खाडीमा पसिना बगाएर
कमाएको पैसा श्रीमतीले
बेफ्वाँकमा उडाइदिने गरेका उदाहरण धेरै
भेटिन्छन्। घरको आर्थिक अवस्था सुधार्न
गएकाहरू घर फर्किंदा जिल्लराम पर्ने
गरेका छन्। 'आफ्नै
श्रीमतीको मति बिग्रिएपछि कसलाई के
भन्नु र खै?' सिन्धुलीका धु्रव भुजेल भन्छन्,
'आफ्नै पुर्पुरो समात्यो, बस्यो।' उनले
पनि तीन वर्षअघि मलेसिया गएको, ३०
लाख रुपैयाँ पठाएको तर घर
फर्किंदा हिस्स परेको बताए। 'ऋण
तिर्ली, घर–घडेरी जोड्ली भनेर भकाभक
पैसा पठाएको थिएँ,' उनी भन्छन्, 'न ऋण
तिरिछ, न घरबारी जोडिछ।
भएभरको पैसा व्यवसाय गर्ने भएर डुबाइछ
मात्रै। अहिले आफू धोती न टोपी भइयो।'
ढुकुटीले सत्यानाश
चाबहिल, काठमाडौँका गोकर्ण
रेग्मी इन्जिनियर हुन्। उनका दुई
छोराछोरी छन्।
श्रीमती रमा गृहिणी हुन्।
गोकर्णको गृहस्थी राम्रै
चलिरहेको थियो। तर,
केही समयअघि रमाले व्यवसाय गर्छु भन्दै
गोकर्णसँग १० हजार रुपैयाँ मागिन्। '१०
हजार रुपैयाँमा कस्तो व्यवसाय गर्ली भनेर
छक्क थिएँ,' गोकर्ण भन्छन्, 'तर,
वास्ता गरिनँ। उनले छ महिनापछि एक
लाख रुपैयाँ मागिन्। त्यो पनि दिएँ।
बिस्तारै भाउ बढाउँदै लगिन्। मैले राम्रै
काम रै'छ भनेर खुरुखुरु पैसा दिइरहेँ।'
उता, रमा भने ढुकुटीमा पैसा लगानी गर्दै
गइन्। लगानी गर्दागर्दै उनी आफैँ नाइके भएर
१५ जनाको समूह बनाई ढुकुटी खेलाउन
थालिन्। तर, उनका सर्कलका साथीभाइ
पैसा लिएर टाप कस्न
थालेपछि रमाको बेहाल सुरु भयो। उनलाई
अन्य खेलाडीले केरकार गर्न थाले।
तिनिहरूको मुख थुन्न उनले चेक काटेर दिइन्।
तर, चेक बाउन्स भयो। अन्ततः मोबाइल
स्विच अफ गरेर बसिन्।
'एक दिन मलाई फोन आयो,' गोकर्ण भन्छन्,
'महारजगञ्ज प्रहरी चौकीबाट
आएको थियो फोन। उनीहरूले मलाई
थानामा बोलाए।
त्यहाँ गएपछि थाहा भयो,
श्रीमतीको चाला।'
त्यसपछि साथीभाइ, आफन्तसँग
चन्दा मागेर ४० लाख
रुपैयाँ चुक्ता गरिदिएको उनी बताउँछन्।
'एकातिरको ऋण तिरेँ,' उनी भन्छन्,
'अर्कोतिर ऋण थपियो। ऋण
तिर्दैमा जुनी बित्ने भयो मेरो।'
गृहस्थी डुबाउने प्रमुख कारणमध्ये एक हो,
ढुकुटी। पछिल्लो समय ढुकुटी खेल्नेहरू
केही कम भए पनि यो खेल साम्य भई
नसकेको प्रहरीहरू बताउँछन्।
यसमा अधिकांश महिला सहभागिता हुने
भएकाले कतिपयको घरबार यसैले डुबाउने
गरेको महानगरीय प्रहरी परिसर,
हनुमानढोकाका एसएसपी उत्तमकुमार
कार्की बताउँछन्।
'विश्वासिला साथीभाइसँग
खेलेकी थिएँ,' स्वयम्भूस्थित एक
विद्यालयकी शिक्षिका भन्छिन्,
'धोका देलान्जस्तो लागेको थिएन। तर,
दुई–चार जना साथी बीचमै
भागिदिएपछि मेरो पाँच लाख
रुपैयाँ डुब्यो। श्रीमान्लाई भनेकी छैन।
थाहा पाउनुभयो भने मार्नुहुन्छ।'
नियतै डुबाउने भएपछि
रामेछापका रामकुमार बस्नेत कतार
उड्नासाथ उनकी श्रीमती मञ्जु
झिटिझ्याम्टा बोकेर
ब्वाइफ्रेन्डकहाँ बस्न गइन्। रामकुमारलाई
आफन्तले यसबारे जानकारी दिएका थिए।
तर, उनले पत्याएनन्। भन्छन्, 'फोन गर्दा रुँदै
कुरा गर्थी,' रामकुमार भन्छन्, 'मलाई ऊ
गलत हुनै सक्दिन जस्तो लाग्थ्यो।'
रामकुमार पाँच वर्ष कतार बसे। पाँच
वर्षमा २०/२५ लाख रुपैयाँ नेपाल
पठाएको उनी बताउँछन्। 'भक्तपुर,
गठाटारमा एक तले घर बनाइसकेँ भन्थी,'
उनी भन्छन्, 'तर, यहाँ आएपछि थाहा भयो,
उसले घर त बनाइछ तर मेरा लागि होइन,
उसकै परिवार बसाल्न बनाइछ।' मञ्जुले
अर्कैसँग बिहे गरिवरि एउटी छोरीसमेत
हुर्काइसकेको देख्दा रामकुमारलाई भाउन्न
छुट्यो। 'मेरो पैसाले मोज गरिछ,'
उनी भन्छन्, 'गरोस्, खाओस्, बनोस्
त्यसको जिन्दगी।'
जानाजान आफ्नै श्रीमान्लाई ठग्नेमध्ये एक
हुन् मञ्जु। नियतबस
श्रीमान्को पैसा उडाएर परपुरुषसँग सम्बन्ध
राख्ने वा अन्य केही चिजमा लगानी गर्ने
महिला पनि हाम्रो समाजमा व्याप्त
छन्। यस्ता समस्याको सिकार
प्रायः विदेशमा रहेका श्रीमान्हरू हुने
गरेका पाइए। श्रीमान्ले विदेशबाट
पठाएको पैसा मनमौजी ढंगले खर्च गर्ने,
रंगरमितामा उडाउने आदि पनि गर्ने
गरेको पाइयो।
गत वर्ष लागुऔषध ओसारपसारमा पक्राउ
परेकी भैरहवाकी एक महिलालाई छुटाउन
आएका उनका श्रीमान्ले प्रहरीसामु आँशु नै
चुहाए। लेबनानमा दुःख गरेर
कमाएको पैसा श्रीमतीले मोजमस्तीमै
उडाएको भन्दै
उनी प्रहरीचौकी पुगेका थिए। दुई
छोराछोरीकी आमा उनलाई, न त
पैसाको अभाव थियो न, त सुःख
सुविधाको। तैपनि, विदेशबाट श्रीमान्ले
पठाएको पैसाले मोजमस्तीको खर्च धान्न
नसकेपछि उनी लागुऔषध
ओसारपसारमा तानिएको प्रहरी
अनुसन्धानबाट खुलेको थियो।
स्वदेशमै पनि एकअर्कादेखि टाढा बस्ने
श्रीमान्–श्रीमतीबीच
लेनदेनसम्बन्धी समस्या आइपर्ने गरेको छ।
'आफू सरुवा भएर विराटनगर पुगेँ,' एक
बैंकका कर्मचारी रमेश भन्छन्,
'श्रीमती पोखरामा थिइन्। मैले
पठाएको पैसा तास खेलेर उडाइछन्।
भएभरका साथीभाइ बोलाएर
दिनका दिन पार्टी गर्ने गरेपछि म त झन्डै
सडकमा पुगेको थिएँ।'
ऋणमा चुर्लुम्मै
नयाँ बानेश्वरका पुकार चन्द अहिले
तनावमा छन्।
श्रीमतीको कुबुद्धिका कारण आफू
भासिएको उनी बताउँछन्। 'मलाई भन्दै
नभनी २० लाख रुपैयाँ ऋण खोजेर
अर्कोलाई ऋण दिइछ,' उनले भने,
'एक्कासि त्यो सुन्दा म त ट्वाँ परेँ।
वज्रपातै आइलागेजस्यो भयो।'
उनकी श्रीमतीका साथीहरू ढुकुटी खेल्ने र
सेयर कारोबार गर्ने गर्दा रहेछन्। 'टन्न
ब्याज आउने लोभमा मेरी बुढीले
चिनेजानेका सबैसँग ऋण मागेर
त्यत्रो पैसो ऋण दिइछ,' उनले भने, 'ब्याज त
परकै कुरो साँवा पनि उठाउन सकिएन।
अहिले ऋण तिर्न नसकेर आफैँ डुबिसकियो।
कुन दिन पार्टीको बास हुन्छ।'
दोष कसको?
सरसरती हेर्दा यस्ता घटनाहरूमा
श्रीमतीकै दोष देखिन्छ। तर, श्रीमती एक्लै
यस्ता समस्याको कारण नहुने
समाजशास्त्री मोहनराज शर्मा बताउँछन्।
'श्रीमान् र श्रीमतीबीच समझदारी र
सरसल्लाहको अभाव भए विभिन्न
खालका समस्या उत्पन्न हुन्छन्,' उनी भन्छन्,
'श्रीमतीका कामकाजमा ध्यान नदिने,
श्रीमतीका कुरै नसुन्ने
आदि गर्दा श्रीमान्हरू नै अन्ततः डुब्ने
गरेका छन्।
यो कुरा श्रीमतीको मामिलामा पनि
लागू हुन्छ।'
महिलाहरूले परपुरुषसँग मन डुलाउने र
भएभरको सम्पत्ति उडाउने, श्रीमान् र
छोराछोरीसमेत छाडेर हिँड्नुको मुख्य
कारण यौन
असन्तुष्टि भएको मनोचिकित्सकहरू
बताउँछन्।
अधिवक्ता शिव गौडेलका अनुसार
आफूबाट महिनौँ, वर्षौं टाढा हुने
श्रीमान्बाट यौन सन्तुष्टिमात्र होइन,
निकटता, मायासमेत नपाएको महसुस गर्न
थालेपछि उनीहरूले बाटो बिगार्ने
गरेका हुन्। 'यसैका कारण घरबार र सम्बन्ध
टुक्रिने क्रम बढ्दै गएको छ,' गौडेलले भने।
(फिचरमा उल्लेख गरिएका दम्पतीका नाम
परिवर्तन गरिएका छन्।)

0 comments:

Post a Comment

 
Top